सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुरका वडाध्यक्ष चन्द्रदिप कुमार यादवले किसानलाई सिँचाइ बोरिङ जडान गरिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेका छन्। उनले दर्जनौँ किसानबाट जनही १५ हजार रुपैयाँका दरले रकम असुलेको पीडितहरूको भनाइ छ।
स्थानीय ६५ वर्षीय भरत यादवले २०८१ फागुनमा बोरिङ जडानका लागि वडाध्यक्ष यादवलाई १५ हजार रुपैयाँ बुझाए। तर, हालसम्म न बोरिङ पाए न त रकम फिर्ता नै। रामाशिष यादव, जगवीर यादव, चन्देश्वर यादव, वैजनाथ यादव लगायतका दर्जनौँ किसानले पनि सोही व्यहोरा बताए।
वडा सदस्य मनिकलाल यादवले पनि किसानमार्फत वडाध्यक्ष यादवलाई रकम बुझाएको स्वीकार गरे। उनले रकम नलिन आग्रह गर्दागर्दै पनि वडाध्यक्षले ‘गाड्ने खर्च’ भन्दै असुलेको बताए।
मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले नगरपालिका वा वडाको कुनै योजनामा उपभोक्तासँग रकम असुल्ने व्यवस्था नभएको बताए। उनले यसबारे आधिकारिक उजुरी नआएको र आएमा छानविन गरिने जानकारी दिए।
वडाध्यक्ष यादव करिब दुई वर्षदेखि वडा कार्यालयमा अनुपस्थित रहेको निमित्त वडाध्यक्ष झगरु माझीले बताए। उनी पटकपटक कार्यवाहक जिम्मेवारी तोकेर बाहिरिने गरेका छन्।
वडाध्यक्ष यादवले फोनमार्फत आफू कतै नभागेको र काठमाडौँमा उपचार गराइरहेको दाबी गरे। उनले एक गैरसरकारी संस्थाको कारण फसेको र चाँडै समस्या समाधान हुने बताए। तर, उनले हस्ताक्षर गरेको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पत्रमा भने ‘कामकाजको लागि बाहिर देश जानु पर्ने भएकाले’ उल्लेख छ।
