नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानासहित बन्द सरकारी उद्योग पुनः सञ्चालनमा सहयोग गर्न रुस तयार रहेको बताएका छन्।
राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट औपचारिक प्रस्ताव आए ऐतिहासिक उद्योगहरू पुनर्जीवित बनाउन रुस पूर्ण रूपमा सहयोग गर्न इच्छुक रहेको स्पष्ट पारे।
बुधबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँगको शिष्टाचार भेटमा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार क्षेत्रमा समेत सहयोग विस्तार गर्न चाहेको जानकारी गराए।
विशेषगरी लामो समयदेखि निष्क्रिय रहेका वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालन योग्य बनाउन रुसले चासो देखाएको छ।
रुसी पक्षबाट आएको यो प्रस्तावलाई नेपालका निष्क्रिय उद्योगहरू पुनर्जीवन दिन सक्ने सम्भावित अवसरका रूपमा हेरिएको छ।
भेटका क्रममा दुई देशबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्ध, पारस्परिक सहयोग र आगामी सहकार्यका नयाँ सम्भावनाबारे पनि छलफल भयो।
नेपाल सरकारले आवश्यक सूचीसहित औपचारिक अनुरोध गरे रुसी पक्ष तत्काल सहकार्यका लागि तयार रहेको राजदूत सुरोभत्सेभले स्पष्ट पारेका छन्।
