ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन २२ करोडको मोटरेबल पुल बाढीले बगाएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन र हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने पुल बगायो।
करिब आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको ४० देखि ४५ प्रतिशत भौतिक प्रगति भएको थियो। एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको थियो। बाढीले ट्रस संरचना र निर्माणस्थलका सामग्रीसमेत बगाएको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले बताए।
गाउँपालिकाको टोलीले शनिबार स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २०७४ सालमा रु २२ करोड पाँच लाख ७७ हजार ८९० लागतमा यो पुल निर्माणको सम्झौता गरेको थियो।
