जापानमा आयोजना हुने २०औं एसियन गेम्सको छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा जापानको आइची-नागोयामा हुने एसियन गेम्सको छनोट प्रतियोगिताका लागि यो टोलीको घोषणा गरेको हो।
मुख्य प्रशिक्षक स्टुअर्ट लको सिफारिसमा क्यानले टोली घोषणा गरेको हो। यो टोलीले सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म आठ राष्ट्रबीच हुने छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले एसियन गेम्समा स्थान पक्का गर्नेछन्।
आइसिसी विश्वकप लिग–२ को तुलनामा टोलीमा केही परिवर्तन गरिएको छ। कुशल मल्ल, सन्दीप जोरा, साहाब आलम, लोकेश बम र शेर मल्लले छनोटका लागि टोलीमा स्थान बनाएका छन्। यी खेलाडी गत शृंखलामा टोलीमा थिएनन्।
यसअघिको एकदिवसीय शृंखलामा रहेका ललितनारायण राजवंशी, ईशान पाण्डे, भीम सार्की, विनोद भण्डारी, अर्जुन कुमाल र गुलसन झा एसियन गेम्सको छनोटका लागि नेपाली टोलीमा परेनन्। आक्रामक ब्याटिङ क्षमता भएका सन्दीप र लोकेशलाई टोलीमा समावेश गरिएको छ।
यस्तै, शाहब र शेरलाई टोलीमा राख्दै स्पिन आक्रमणलाई मजबुत बनाइएको छ। भारतमा भएको आइसिसी टी ट्वान्टी विश्वकपमा लोकेशले इङ्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए।
छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालले आफ्नो पहिलो खेल मे ३१ मा चीनविरुद्ध खेल्ने तालिका छ। त्यसपछि जुन २ मा कतार र जुन ४ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर छन्।
प्रतियोगिताको दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा पुग्ने चार टोलीले सन् २०२६ को एसियाली खेलकुदमा स्थान सुरक्षित गर्नेछन्। एसियन गेम्समा आयोजक जापानसहित पाँच टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले यसअघि नै प्रत्यक्ष स्थान सुरक्षित गरिसकेका छन्।
