अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखिएको यो बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको हो।
विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ र पूँजीगत (विकास) खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ। यसका अतिरिक्त, वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले बजेटको खर्च धान्नका लागि राजस्वबाट १४ खर्ब ४ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। यसबाहेक, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने योजना छ।
राजस्व र वैदेशिक सहायताबाट नपुग्ने ४ खर्ब १० अर्ब रुपैयाँ भने आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए। यद्यपि, यस बजेटले निजी क्षेत्रका शिक्षण संस्था र स्वास्थ्य सेवा महँगो बनाउने तथा केही सुरक्षा निकायको बजेट घटाउने जस्ता पक्षहरूले भने आलोचना खेपेको छ।
