टिनको छानामुनि गर्मीले थिलथिलाएका बालबालिका: पढाइ प्रभावित
पश्चिम नेपालको बाँके जिल्ला लगायतका क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै सामुदायिक विद्यालयका बालबालिका टिनको छानामुनि पढ्न बाध्य भएका छन्। नेपालगन्जको ४१-४२ डिग्री सेल्सियससम्म पुग्ने चर्को गर्मीमा बालबालिका उकुसमुकुस हुँदै पसिना चुहाएर पढिरहेका छन्।
अधिकांश सामुदायिक विद्यालयका कक्षाकोठा टिनको छानाले बनाइएका छन्। यसले गर्दा गर्मीयाममा तापक्रम निकै बढ्छ। छिनछिनमा बिजुली जाने समस्या र पङ्खाको अभावले साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवैमा गम्भीर असर परेको शिक्षकहरूले बताएका छन्।
अत्यधिक गर्मीको मौसममा पटकपटक हुने विद्युत् अवरुद्धले टिनको छानामुनिको पढाइ थप कष्टकर बनेको छ। अधिकांश विद्यालयले प्राथमिक तहका बालबालिकालाई यस्तै असहज वातावरणमा राखेर पढाउने गरेका छन्।
गर्मीका कारण विद्यार्थीहरू बारम्बार पानी खान जाने, टाउको दुख्ने र थकान महसुस गर्ने जस्ता समस्याबाट पीडित हुने गरेको आदर्श मावि, राँझाकी शिक्षिका हीरा गौतमले बताइन्। यस्तै अनुभव श्री मावि शाहपुर्वाका सहायक प्रधानाध्यापक टीका खड्का र शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालले पनि सुनाएका छन्।
विद्यालयहरूमा सामान्य प्राथमिक उपचारको मात्र व्यवस्था भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने र नसके घर पठाउने गरिएको छ। टिनको छाना भएका कक्षाकोठामा एउटा कोठाको आवाज अर्को कोठासम्म सजिलै सुनिन्छ। वर्षायाममा पानी पर्दा टिनमा ठूलो आवाज आउने भएकाले पढाइमा थप बाधा पुग्ने शिक्षकहरूको भनाइ छ।
केही विद्यालयमा स्थानीय सरकारले तापक्रम घटाउने उद्देश्यले टिनमुनि जिप्सन बोर्ड राखेको भए पनि नेपालगन्जको अत्यधिक गर्मीमा त्यसको प्रभावकारीता नदेखिएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशीले बताए।
नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र नयाँ भवनहरू टिनका नबनेको जानकारी दिए। उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि नीति निर्माणको काम भने अझै हुन नसकेको स्वीकार गरे।
जनप्रतिनिधिहरू सुविधासम्पन्न र वातानुकूलित भवनमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग जुध्दै पढ्न बाध्य हुनुपरेको अभिभावकहरूले गुनासो गरेका छन्।
