संवैधानिक परिषद्ले सिफारिस गरेका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र निर्वाचन आयुक्तहरू राजीब सुब्बा तथा गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइ प्रक्रिया आज बिहान ९:३० बजे सिंहदरबारमा सुरु हुँदैछ।
सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकले प्रस्तावित उम्मेदवारको योग्यता, अनुभव र कार्ययोजनाबारे छलफल गरी आवश्यक कार्यतालिका तय गर्नेछ। समितिकी उपसचिव सावित्रा शर्माले यो जानकारी दिइन्।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। सुब्बा र वाग्लेलाई निर्वाचन आयुक्त पदमा सिफारिस गरिएको थियो।
संवैधानिक व्यवस्थाअनुसार, संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र उनीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ।
यसैबीच, प्रतिनिधिसभाको बैठक पनि आज बस्दैछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्ने कार्यसूची छ।
