चितवनको माडी नगरपालिकास्थित ऐतिहासिक सोमेश्वरगढीमा प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ। माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा निर्माण गरिएको शालिक अनावरणसँगै पार्कले पूर्णता पाएको हो।
नेपाली सेना मध्य पृतनापति उपरथी विष्णुकुमार खड्काले महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक बस्न्यातको सम्मान, श्रद्धा र स्मरणस्वरूप शालिक अनावरण गरे। पूर्ण सैनिक पोसाकमा, बायाँ हातमा ढाल, दायाँ हातमा तरबार र कम्मरमा खुकुरीसहित उभिएको शालिकले नेपाल एकीकरणको वीरगाथा र राष्ट्रिय स्वाभिमानको सन्देश दिने विश्वास व्यक्त गरिएको छ।
बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले राष्ट्रिय झण्डोत्तोलन गरे। माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले शालिक परिसरमा निर्माण गरिएको सोमेश्वर ढुङ्गेधाराको उद्घाटन गरिन्। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सुरक्षा निकाय, स्थानीयवासी तथा बुद्धिजीवी सहभागी थिए।
नगरप्रमुख महतोले शालिक निर्माणका लागि बागमती प्रदेश सरकार, माडी प्रज्ञा प्रतिष्ठान, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाले गरेको सहयोगप्रति आभार व्यक्त गरिन्। बस्न्यातको इतिहासको खोज, अनुसन्धान र दस्तावेजीकरणमा माडी प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरिन्।
पार्क निर्माण तथा व्यवस्थापनमा नेपाली सेनाले प्रतिकूल अवस्थामा पनि निरन्तर काम गरेको भन्दै नगरप्रमुख महतोले सेनाको योगदानको प्रशंसा गरिन्। निर्माण अवधिभर आवश्यक सामग्री उपलब्ध गराउने जिम्मेवारी माडी नगरपालिकाले निर्वाह गरेको थियो।
उनले सोमेश्वरगढी र सोमेश्वर कालिका मन्दिर माडीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदासँग जोडिएका महत्वपूर्ण स्थल रहेको बताइन्। गढी र मन्दिर दुवैलाई समेटेर पर्यटन विकास गर्न आवश्यक रहेको उनको धारणा थियो। सोमेश्वरगढी नेपालका १०० पर्यटकीय गन्तव्यमध्ये एकमा सूचीकृत भएपछि यसको महत्व बढेको छ।
प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले सोमेश्वरगढी नेपालकै ऐतिहासिक स्थल भएको र यसको विकास सामूहिक प्रयासको परिणाम भएको बताए। उनले गढीको विकासका लागि प्रदेश सरकारका तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा दिइएको जानकारीअनुसार नेपालका प्रथम सेनापति काजी शिवरामसिंह बस्न्यात र वीराङ्गना शुरप्रभा बस्न्यातका सुपुत्र अभिमानसिंह बस्न्यातको जन्म विसं १८०१ फागुन ७ गते गोरखामा भएको थियो। उनी नेपाल एकीकरण अभियानका महान् स्तम्भ थिए। उनले विसं १८१२ मा गोरखा सिरानचोक अभियानबाट सैनिक जीवनको यात्रा प्रारम्भ गरेका थिए।
कुशल कूटनीतिज्ञ, सक्षम प्रशासक तथा अद्वितीय सैन्य नेतृत्वका धनी बस्न्यातले नेपाल एकीकरणका क्रममा मकवानपुर, काठमाडौँ, पाटन र भक्तपुर विजयमा निर्णायक भूमिका निर्वाह गरेका थिए। उनले विसं १८३० देखि १८३१ सम्म माझकिरात, चौदण्डी, विजयपुर तथा लिम्बुवान हुँदै नेपालको पूर्वी सिमाना टिस्टा नदीसम्म पुर्याउने अभियानको नेतृत्व गरेका थिए।
विसं १८४१ मा मकैडाँडाको युद्धमा चौबिसे राज्यहरूको संयुक्त शक्तिविरुद्ध र विसं १८४८–१८४९ को नेपाल–तिब्बत युद्धमा पनि बस्न्यातले महत्वपूर्ण योगदान दिएका थिए। समुद्र सतहबाट ८८० मिटरको उचाइमा अवस्थित सोमेश्वरगढी तत्कालीन नेपालको दक्षिणी प्रतिरक्षा प्रणालीको प्रमुख केन्द्र थियो। विसं १८३४ मा काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा तत्कालीन तनहुँ राज्यबाट जितेर नेपालमा समाहित गरिएको यो गढीले नेपालको दक्षिणी सिमानालाई सुरक्षित बनाउँदै एकीकरण अभियानलाई स्थायित्व प्रदान गरेको थियो।
सैनिक विधामा मात्र नभई राज्य सञ्चालनमा पनि निपुण बस्न्यातले विसं १८५० देखि १८५५ सम्म काजीका रूपमा राज्य प्रशासन, आर्थिक व्यवस्थापन तथा शासन सञ्चालनको नेतृत्व सफलतापूर्वक सम्हालेका थिए। अनवरत रूपमा राष्ट्रसेवामा समर्पित रहँदै विसं १८५७ असार १३ गते काला वञ्जर क्षेत्रमा उनको देहावसान भएको थियो। काजी अभिमानसिंह बस्न्यातलाई अद्वितीय वीरता, दूरदर्शिता, अटल राष्ट्रनिष्ठा र त्यागका प्रतिमूर्तिका रूपमा स्मरण गरिन्छ।
