NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राप्रपाका तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मन्त्री बनेका प्रदेशसभा सदस्यहरूमा राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ छन्। पार्टीले यसअघि नै संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
23 August 2026, 8:39 pm १ मिनेट पढाइ
आकार:
राप्रपा स्पष्टीकरण
Share:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमार्फत सो निर्णय सार्वजनिक गरेका हुन्।

स्पष्टीकरण माग गरिएका प्रदेशसभा सदस्यहरूमा राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ छन्। उनीहरूलाई पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको विषयमा पूर्ण सफाइको मौका दिँदै स्पष्टीकरण पेश गर्न समय दिइएको हो। अनुशासन समितिले टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर र ह्वाट्सएपमार्फत सूचना पठाएको श्रेष्ठले जनाएका छन्।

एमालेका किरण थापा मगर नेतृत्वमा ४ भदौ २०८३ मा गठन भएको सरकारमा राप्रपाका यी तीन सदस्य मन्त्री बनेका थिए। मुख्यमन्त्री थापा मगरले सोही दिन मन्त्रिपरिषद् विस्तार गर्दै राजु बिष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए।

मन्त्री बनेका तीनै जनाले ४ भदौमै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। राजु बिष्टको यो दोस्रो मन्त्री कार्यकाल हो। उनी यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री बनेका थिए। प्रजापति र तामाङ भने थापा मगर नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बनेका हुन्।

यसैबीच, पार्टीको निर्णयविपरीत थापा मगर नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई ४ भदौमै कारबाही गरिसकेको छ। थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी प्रदेशसभा सदस्यबाट हटाउने निर्णय भएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार