NM Khabar 16 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डढुवा रोगले दोलखाका गोलभेँडा सखाप: किसान लाखौंको क्षतिमा

दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान गोलभेँडामा डढुवा रोगको संक्रमणले चिन्तित छन्। यस रोगले फूल, चिचिला र फल नष्ट हुँदा किसानहरू ठूलो आर्थिक क्षतिमा परेका छन्। रोग नियन्त्रणका लागि प्राविधिक सहयोग र परामर्शको माग गरिएको छ।
Kamala Devi
Kamala Devi
15 September 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
गोलभेडा डढुवा रोग दोलखा
Share:

दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका कम्तीमा २० किसानले लगाएको १२ देखि १५ वटा प्लास्टिक टनेलमा गोलभेँडा डढुवा रोगले सखाप पारेको छ। फल लागिसकेको र फल्ने तयारीमा रहेको बोट सुक्न थालेपछि किसानहरू ठूलो आर्थिक क्षतिमा परेका छन्।

स्थानीय कृषक फुलमाया सार्कीले पाँच रोपनी भाडाको जमिनमा १० वटा टनेलमा गोलभेँडा लगाएकी थिइन्। दशैँ–तिहार लक्षित पहिलो लटको पाँच टनेलमा रोग फैलिएको छ। ‘मेहनत खेर गयो। डढुवा रोगले सबै गोलभेँडा सखाप पार्‍यो,’ सार्कीले दुखेसो गरिन्।

रोग नियन्त्रणका लागि पटक–पटक औषधि प्रयोग गर्दा पनि संक्रमण झन् फैलिएको छ। गोलभेँडाका चिचिला सुक्दैछन्। फूल र फलसमेत नष्ट भइरहेका छन्।

सामान्य अवस्थामा एक मौसममा उन्याचौरबाट ३ देखि ४ लाख रुपैयाँको गोलभेँडा बिक्री हुन्थ्यो। यस वर्ष डढुवा रोगले उत्पादनमा ठूलो गिरावट ल्याएको छ। ‘लाखौंको गोलभेँडा बिक्री हुने बारी डढुवाले सखाप पार्ने संकेत छ,’ सार्कीले भनिन्।

दिनभर घाम र राति पानी पर्ने मौसमी फेरबदलले रोग संक्रमण बढाएको किसान बताउँछन्। कृषि विज्ञहरूका अनुसार टनेलभित्रको अत्यधिक गर्मी, चिसो र चिस्यानले ढुसीजन्य रोग फैलन्छ।

समयमै रोग पहिचान गरी प्राविधिक सल्लाहअनुसार व्यवस्थापन नगरे थप टनेलमा रोग फैलने किसानको चिन्ता छ। उनीहरूले सम्बन्धित निकायबाट प्राविधिक सहयोग र परामर्श मागेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार