गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडक पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आमा र शिशुको स्वास्थ्य अवस्था बुझेका छन्। बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर घटनाबारे जानकारी लिएका हुन्।
घटनाबारे जानकारी प्राप्त भएलगत्तै दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताए। गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३० वर्षीया बबिता पासवान सुत्केरी हुन पुगेकी थिइन्। आवश्यक रकमको जोहो गर्न नसकेपछि बबिताले सडक पेटीमा छोरालाई जन्म दिएकी थिइन्। उक्त दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।
