मधेश प्रदेशको टिम जनकपुर बोल्ट्सको प्ले-अफ यात्रा थप कठिन बनेको छ। शुक्रबार चितवन राइनोजसँग ४ विकेटले पराजित भएपछि बोल्ट्सको शीर्ष चारमा पर्ने सम्भावना क्षीण बनेको हो।
७ खेलमा ४ अंकसहित अंक तालिकाको छैटौँ स्थानमा रहेको जनकपुर बोल्ट्सका लागि अब बाँकी खेल जित्नुपर्ने दबाब बढेको छ। यस सिजनमा टोलीले उतारचढावपूर्ण प्रदर्शन गर्दै आएको छ। बोल्ट्सले कर्णाली याक्स, विराटनगर किङ्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग पराजय भोगेको छ। यद्यपि, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सविरुद्ध भने जित हासिल गरेको थियो।
<
चितवन राइनोजविरुद्ध बोल्ट्सको प्रदर्शन
चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका कप्तान हरमीत सिंहले २५ बलमा २५ रन बनाए, जसमा २ चौका र १ छक्का समावेश थियो। विशाल सुस्लिङले १२ बलमा १५ रनको योगदान दिए, जसमा १ चौका र १ छक्का थियो। राहुल यादव १० बलमा १० रन बनाएर नटआउट रहे, जसमा १ छक्का थियो।
बलिङतर्फ राहुल यादवले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए भने ललित राजवंशीले ३.२ ओभरमा २३ रन दिएर २ विकेट हात पारेका थिए। जनकपुर बोल्ट्सले दिएको लक्ष्य चितवन राइनोजले १६ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो।
मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सको यो प्रदर्शनले स्थानीय खेलप्रेमीहरूलाई निराश बनाएको छ।