मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘सरसफाइ सप्ताह’ सुरु, स्वास्थ्यमन्त्रीले गरिन् उद्घाटन

प्रधानमन्त्री कार्यालयको निर्देशनमा आज वैशाख २८ देखि जेठ १ गतेसम्म 'सरसफाइ सप्ताह २०८३' सुरु भएको छ। स्वास्थ्यमन्त्री निशा मेहेताले वीर अस्पतालबाट अभियानको उद्घाटन गरिन्। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित र स्वच्छ बनाउन यो अभियान सञ्चालन गरिनेछ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२१६

प्रधानमन्त्री कार्यालयको निर्देशनमा आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु भएको छ, स्वास्थ्यमन्त्री निशा मेहेताले वीर अस्पतालबाट उद्घाटन गरिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैशाख २८ देखि जेठ १ गतेसम्म चल्ने यस अभियानका लागि विशेष मार्गदर्शन जारी गरेको छ। संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ।

अभियानको औपचारिक उद्घाटन आज बिहान ८:३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा भएको हो।

सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ ले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखेको छ।

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड अभावले सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यसै सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। मार्गदर्शनको पृष्ठभूमिमा ‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ’ भनी उल्लेख छ।

मार्गदर्शन अनुसार, सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनेछ।

सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ। शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ।

कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक पनि मार्गदर्शनमा समावेश छन्।

सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाउन कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरिनेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्नेछ। प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व-मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ।

यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ, जसले नियमित अभिलेख राख्नुपर्नेछ। यो अभियानले सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार