NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जनकपुरमा पुनः सडकपेटी अतिक्रमण: गृहमन्त्रीको स्टन्ट कि निरन्तरताको अभाव?

तीन महिनाअघि मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले आफैँ सक्रिय भएर जनकपुरका सडकपेटी र फुटपाथलाई अतिक्रमणमुक्त गराएका थिए। तर, अहिले पुनः सडकपेटी र फुटपाथमा फलफूल, तरकारीका ठेला र चारपाङ्ग्रे ठेलाले कब्जा जमाएका छन्। यसलाई कतिपयले मन्त्रीको स्टन्टबाजी मानेका छन् भने प्रदेश सरकारले स्थानीय तहको असहयोगलाई कारण देखाएको छ।
Kamala Devi
Kamala Devi
14 July 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
जनकपुर सडकपेटी अतिक्रमण
Share:

जनकपुरधाम । १५ करोडको सरकारी जग्गा माफियाले कब्जा गरेको खुलासा भएको छ। मधेस प्रदेशका गृहमन्त्री फकिरा महतो आफैँ फिल्डमा उत्रिएर ३ महिनाअघि जनकपुरका सडकपेटी र फुटपाथ अतिक्रमणमुक्त गराएका थिए। उनी व्यापार गर्नेहरूमाथि आक्रामक प्रस्तुत भएका थिए।

प्रहरी सक्रिय भएपछि कतिपयले आफैँ क्षेत्र खाली गरे। जानकी मन्दिर, अस्पताल रोड, रामानन्द चोक, शिव चोक, जनक चोक, पिडारी चोक सफा भए। यसले धार्मिक पर्यटक, विद्यार्थी र सर्वसाधारणलाई सहज भयो।

तर, तीन महिना नबित्दै जनकपुरका फुटपाथ पुनः पुरानै अवस्थामा फर्किएका छन्। रामानन्द चोकदेखि जानकी मन्दिर जाने मूल बाटोमै रहेको प्रादेशिक अस्पताल क्षेत्र सडकको आधा भाग फलफूल, तरकारीका ठेलाले ढाकिएको छ। यसले पैदल यात्रुलाई समस्या छ। सडकको व्यस्तता झनै बढेको छ।

अस्पताल रोडमा दर्जनौँ चार पाङ्ग्रे ठेला बिहानदेखि रातिसम्म राखिन्छन्। यसले पैदल यात्रु र सवारीसाधन दुवैलाई सास्ती भएको छ।

ईरिक्सा चालक रामलाल पासवान भन्छन्, ‘मन्त्री आफैँ लागेपछि राम्रो भएको कामलाई निरन्तरता दिन नसक्नु उनको कार्यक्षमतामाथि प्रश्न हो।’

एक सरकारी कर्मचारी भन्छन्, ‘मधेसको कमजोर पक्ष कामलाई निरन्तरता नदिनु हो। आफूलाई अब्बल देखाउन स्टन्टबाजी गर्ने, पछि निरन्तरता दिन नसक्ने मुख्य समस्या हो।’

जनकपुर रेल्वे स्टेशनका बब्लु गुप्ता भन्छन्, ‘आफैँले गरेका निर्णयलाई सरकारले निरन्तरता दिन नसक्नु अनौठो छ।’

मधेस प्रदेश सरकारका प्रवक्ता राधेशंकर प्रसाद पाल भन्छन्, ‘मन्त्रीको काममा जनकपुर उपमहानगरपालिकाका मेयरले सहयोग गरेनन्। असहयोगले सडक व्यवस्थापनमा अवरोध भयो।’ स्थानीय तहले कानुनी अड्चन देखाउँदै असहयोग गर्दा मन्त्रीले निरन्तरता दिन नसकेको उनको भनाइ छ।

जनकपुरलाई पर्यटकीय नगरी बनाउने लक्ष्य छ। प्रदेश र स्थानीय तहले कार्यक्रम अगाडि बढाएका छन्। तर, आपसी समन्वयको अभावले जनताले सास्ती भोग्नुपरेको स्थानीयबासीको बुझाइ छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार