भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाका १३ खानेपानी तथा सरसफाइ आयोजनामा कम्तीमा २५ करोड २५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ। यसबाट १ हजार ६२३ नागरिक सुरक्षित पिउने पानीबाट वञ्चित भएका छन्।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका आयोजनामा ठूलो नोक्सानी निम्त्याएको छ। अधिकांश आयोजना पूर्ण रूपमा ध्वस्त भएका छन्। कतिपयका मुख्य तथा शाखा पाइपलाइन र धाराहरू बगाएको छ।
गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १, २ र ५ मा रहेका आयोजना पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९०० भन्दा बढी नागरिक खानेपानीबाट वञ्चित भएको विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिए।
उत्तरगया गाउँपालिकाका वडा नम्बर ३ र ४ मा सञ्चालित आयोजनाहरू पनि बाढीले पूर्ण रूपमा नष्ट पारेको छ। कैदलटार, सिम्ले मुहान र बाँसथलसिमल लगायतका आयोजनाका संरचनाहरूमा व्यापक क्षति पुगेको छ।
प्रभावित नागरिकलाई तत्काल खानेपानी सेवा पुनः सुचारु गर्न र क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माणका लागि प्रक्रिया अघि बढाइएको महानिर्देशक श्रेष्ठले बताए।
