नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआइ) ले आयोजना गरेको व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।
उनले नेपाललाई केवल वस्तु बेच्ने बजारका रूपमा मात्र नभई लगानी र उत्पादनको रणनीतिक साझेदारका रूपमा लिन भारतीय निजी क्षेत्रलाई आग्रह गरे।
मन्त्री वाग्लेले नेपालमा लगानीका उदीयमान अवसरहरूबारे बताए। उनले नेपालमा पहिलेदेखि सञ्चालित भारतीय कम्पनीलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई सम्भावनाको खोजी गर्न अपिल गरे।
नेपालमा उच्च आर्थिक वृद्धिको प्रशस्त सम्भावना रहेको बताउँदै मन्त्री वाग्लेले सूचना प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन र उत्पादन साझेदारीका क्षेत्र औंल्याए। ‘भारतीय व्यवसायी विश्वव्यापी आपूर्ति शृङ्खलामा जोडिन नेपालसँग रणनीतिक साझेदार बन्न सक्छन्,’ उनले भने।
लगानीकर्तालाई आश्वस्त पार्दै अर्थमन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणको एजेन्डामा दृढतापूर्वक अघि बढेको दाबी गरे। नीतिगत सुधारलाई तीव्र बनाउँदै अनुमानयोग्य, पारदर्शी तथा लगानीमैत्री व्यावसायिक वातावरण सिर्जना गर्न सरकार लागिपरेको उनले सुनाए।
वार्षिक बजेट, कर सुधार र लगानीकर्तामैत्री नीतिगत पहलमार्फत सरकारले लगानीका बाधाहरू हटाउने काम गरिरहेको उनको भनाइ थियो। निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन यी कदम चालिएको उनले बताए।
नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको मन्त्री वाग्लेले उल्लेख गरे। उक्त कार्यक्रममा भारतीय व्यावसायिक क्षेत्रका अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
