NM Khabar 30 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्वप्रधानन्यायाधीश राणा पक्राउप्रति बारको आपत्ति, स्वेच्छाचारी शासनको विरोध

नेपाल बार एसोसिएसनले पर्याप्त आधार र कारणबिना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेको घटनाको विरोध गरेको छ। बारले यस्तो कार्यलाई स्वेच्छाचारी शासनको संज्ञा दिँदै न्यायपालिकाको स्वच्छता र स्वतन्त्रतामाथि प्रश्न उठाएको छ।
Arjun Basnet
Arjun Basnet
28 September 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
बारको आपत्ति
Share:

आधार र प्रमाणबिना नागरिकलाई नियन्त्रणमा लिने कार्य संविधान र विधिको शासनविपरीत भएको भन्दै नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउको विरोध गरेको छ। सुरक्षा चुनौतीको कारण देखाउँदै प्रहरीले आइतबार राणालाई नियन्त्रणमा लिएको थियो। करिब ११ घण्टापछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर छाडेको थियो।

सोमबार विज्ञप्ति जारी गर्दै बारले आधार र प्रमाणबिना नागरिक पक्राउ गर्ने कदम लोकतान्त्रिक शासन प्रणालीविपरीत भएको ठहर गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत राणासँग भेटघाट गर्न नदिएको विषयमा बारले गम्भीर आपत्ति जनाएको छ। बारले कुनै पनि प्रकारको स्वेच्छाचारी शासन स्वीकार्य नहुने स्पष्ट पारेको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका स्वच्छ र भ्रष्टाचारमुक्त हुनुपर्छ। सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट यसको स्वच्छता र स्वतन्त्रताविरुद्ध हुने कुनै पनि हस्तक्षेपको यस एसोसिएसन प्रतिवाद गर्दछ।’

अनाहकमा नागरिकलाई पक्राउ नगर्न सम्बन्धित निकायलाई सचेत गराउँदै बारले न्यायालयलाई दबाब, अभाव र प्रभावमा पारेर अनुकूल चलाउन खोज्ने जो-कोहीको डटेर सामना गर्ने चेतावनी दिएको छ।

यसैबीच बारले सेवानिवृत्त प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई अदालतमा विचाराधीन मुद्दामामिलामा चासो नराख्न आचारसंहिताको स्मरण गराएको छ। ‘सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य कुनै व्यक्तिले विचाराधीन मुद्दामामिलामा कुनै पनि माध्यम वा स्थानबाट हस्तक्षेप, चासो, सरोकार वा छलफल गर्न नहुने कानुनी तथा आचारसंहिताको व्यवस्थाको पालना गर्न पनि बारले सम्बन्धित सबैलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार