जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनलाई नियन्त्रणमा लिइएको हो। घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ। एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक–पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको आरोपसहित मंगलबार राति उजुरी दर्ता गरेकी थिइन्।
जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले पीडित महिलाको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको बताए। उनले घटनासम्बन्धी तथ्य, प्रमाण र पीडितको बयानका आधारमा थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले अनुसन्धान निष्पक्ष ढंगले अघि बढाइने र आरोप पुष्टि भए कानुनअनुसार कारबाही हुने जनाएको छ।
