NM Khabar 9 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राज्यका लागि गोली खाए, आज सरकारले नै घरबारविहीन बनाइदियो: भक्तराजको पीडा

३५ वर्षअघि सरकारी जग्गा जोगाउन गोली खाएर राज्यले नै जग्गा दिएका भक्तराज बस्नेतलाई बुटवल उपमहानगरपालिकाले अहिले घरबारविहीन बनाइदिएको छ। कुनै व्यवस्थापन नगरी उनको घरसहितको संरचना भत्काएपछि उनी न्यायको खोजीमा भौँतारिएका छन्।
Maya Thapa
Maya Thapa
9 May 2026, 11:02 am १ मिनेट पढाइ
आकार:
Share:

३५ वर्षअघि सरकारी जग्गा जोगाउन गोली खाएर राज्यले नै जग्गा दिएका भक्तराज बस्नेतलाई बुटवल उपमहानगरपालिकाले अहिले घरबारविहीन बनाइदिएको छ। बुटवलको उच्च अदालत अगाडि सानो टिनको छाप्रोमा खाजा घर सञ्चालन गर्दै आएका उनको घरसहित अदालत परिसरमा रहेका ९ वटा संरचनामा एक साताअघि डोजर चलाइएपछि उनको जीवन विक्षिप्त बनेको छ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ अमिलेका भक्तराजले सरकारी जग्गा हडपेका थिएनन्। ३५ वर्षअघि सरकारी जग्गा अतिक्रमण गर्नेहरूलाई हटाउन जाँदा गोली खाएर घाइते भएका उनलाई तत्कालीन सरकारले नै २०४७ सालको मन्त्रीस्तरीय निर्णयमार्फत एक कट्ठा जग्गा उपलब्ध गराएको थियो। राज्यका लागि लडेका उनलाई अहिले राज्यले नै व्यवस्थापन नगरी घरबारविहीन बनाइदिएको छ।

‘बेलुका ८ बजे माइकिङ गर्‍यो, बिहान १० बजे डोजर चलायो। मैले आफूले राखेका सामान पनि निकाल्न पाइनँ,’ उनले गुनासो गरे। जीवनभरको लगानी गरेर जोडेका सामान निकाल्न दुई घण्टा समय माग्दासमेत नगरपालिकाले कुनै सुनुवाइ नगरेको उनको भनाइ छ।

२०४७ कात्तिक २० गते गुल्मीको नयाँ गाउँमा २०० बिघाभन्दा बढी सार्वजनिक जग्गा खाली गराउने अभियानमा हिँड्दा युवा भक्तराजलाई गोली लागेको थियो। लामो उपचारपछि पनि उनको खुट्टामा लागेको गोली अहिलेसम्म निकालिएको छैन, जसलाई निकाल्दा खुट्टा चल्न नसक्ने जोखिम चिकित्सकले बताएका छन्। यही त्यागको कदर गर्दै तत्कालीन श्री ५ को सरकारले गठन गरेको उच्च स्तरीय अधिकारसम्पन्न आयोगको सिफारिसमा २०५१ सालमा उनलाई बुटवलको उच्च अदालत तुलसीपुर इजलास पश्चिमपट्टिको कित्ता नम्बर १४२१ को जग्गाधनी पुर्जासहित बसोबास गराइएको थियो।

राज्यले दिएको जग्गा, राज्यबाटै उठिबास

तत्कालीन मन्त्रिपरिषद्को निर्णय, आयोगको प्रतिवेदन र जग्गाधनी पुर्जासहितका सबै प्रमाण भक्तराजले सुरक्षित राखेका छन्। उनले ती प्रमाण विभिन्न सरकारका पालामा पेस गरे पनि न्याय पाउन सकेनन्। ‘म अतिक्रमण गरेर बसेको होइन, राज्यले बसालेको हो,’ उनले भने, ‘२०५२ असार १६ देखि यही ठाउँमा बसेको छु। पैतृक सम्पत्ति यसैमा लगानी गरेर संरचना बनाएको हुँ। घाइतेका हिसाबले न्याय माग्दा किन पाइनँ?’

बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको २०७७ भदौ १५ गतेको पत्रले उनलाई राजनीतिक पीडित व्यक्ति र लामो समयदेखि बसोबास गर्दै आएकाले न्याय पाउने अपेक्षा गरिएको थियो। तर, तिरो नबुझाइदिँदा उनले पूर्ण अधिकार प्रयोग गर्न पाएका थिएनन्। अहिले बिनाकुनै व्यवस्थापन उनको लाखौँको संरचना ध्वस्त बनाइएको छ, जसले उनलाई र उनको परिवारलाई सडकमा पुर्‍याएको छ।

‘म र मेरो परिवार विक्षिप्त अवस्थामा छौँ,’ भक्तराज भन्छन्, ‘सरकारी जग्गा हडपेर बसेको होइन, राज्यका हरेक निर्णय शिरोधार्य गरेर जान निवेदन गर्छु।’ उनले पालिका सरकारसँग आफूलाई उचित बसोबास र रोजगारीको व्यवस्था गर्न माग गरेका छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

Nmkhabar की समाज तथा मानवीय रुचिकी फिचर लेखिका। सामुदायिक कथा, महिला र बालबालिकाका विषयमा गहन र संवेदनशील रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार