NM Khabar 16 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इन्द्रसरोवर दुर्घटना: चारको मृत्यु, तीन घाइतेको उपचार जारी

मकवानपुरको इन्द्रसरोवरमा यात्रुवाहक इभी सडकबाट करिब एक हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ। मृतकको सनाखत भएको छ भने चार जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
Kamala Devi
Kamala Devi
16 September 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
इन्द्रसरोवर इभी दुर्घटना
Share:

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। मृतकको सनाखत भएको छ।

मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–१ का २४ वर्षीय नरबहादुरसिंह ठकुरी, धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई, छिपहरमाई–२ का ४४ वर्षीय भुवनेश्वर साह कानु र परवानीपुर–३ का ३२ वर्षीय सरफरोस मियाँ छन्। शव हेटौँडा अस्पतालमा राखिएको छ।

घाइते चालक बाराको कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय अमीर अन्सारी, हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङ्तानको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

बाराको महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अन्सारी र स्याङ्तानको अवस्था गम्भीर छ। यादवको अवस्था मध्यम छ।

हेटौँडा अस्पतालमा उपचाररत यादव लोकसेवा आयोगको परीक्षा दिन वीरगञ्जतर्फ जाँदै थिइन्। गाडी सडकबाट करिब एक हजार मिटर तल खसेर पल्टिँदा उनी झ्यालबाट बाहिर निस्कन सफल भइन्।

यादवले दुर्घटनाअघि गाडी तीव्र गतिमा गुडिरहेको बताइन्। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी दिउँसो करिब २ः०० बजे हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको थियो। गाडीमा चालकसहित आठ जना सवार थिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार