गत असोजमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको क्षतिपूर्तिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ। तर, असोज २८ गतेसम्म कम्पनीहरूले २३ करोड ५२ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन्। यो कुल दाबीको एक प्रतिशतभन्दा केही बढी मात्रै हो।
नेपाल बीमा प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमा दुई हजार ४२७ बीमितले प्रारम्भिक दाबी गरेका छन्। यसले विपद्का बेला बीमा दाबी भुक्तानीको सुस्त प्रक्रियालाई उजागर गरेको छ, जसले प्रभावित व्यक्ति र व्यवसायमा थप आर्थिक भार पारेको छ।
सम्पत्ति र मोटर बीमामा सर्वाधिक दाबी
बाढीबाट भएको क्षतिका लागि परेको दाबीमध्ये सम्पत्ति बीमामा सबैभन्दा बढी रकमको प्रारम्भिक दाबी परेको छ। यस शीर्षकमा ५७२ बीमितले ९५ करोड ७१ लाख ९८ हजार रुपैयाँको दाबी गरेका छन्, जसमध्ये हालसम्म आठ करोड ६२ लाख ८३ हजार रुपैयाँ भुक्तानी भएको छ।
मोटर बीमामा सबैभन्दा बढी एक हजार ६८ बीमितले कुल २८ करोड ५० लाख ३४ हजार रुपैयाँको क्षतिपूर्ति माग गरेका छन्। यसमा हालसम्म छ करोड सात लाख ४४ हजार रुपैयाँ भुक्तानी भएको छ। परिवहन बीमामा १०६ बीमितले २३ करोड ४० लाख ५९ हजार रुपैयाँको दाबी गरेका छन्, जसमध्ये सात करोड ८२ लाख ७२ हजार रुपैयाँ भुक्तानी भएको छ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा १७४ बीमितबाट ४३ करोड ९७ लाख २६ हजार रुपैयाँको प्रारम्भिक दाबी परेकोमा हालसम्म ३० लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ। अन्य बीमाअन्तर्गत ४५५ बीमितले १५ करोड १० लाख तीन हजार रुपैयाँको दाबी गरेका छन्, जसमध्ये ७६ लाख ३० हजार रुपैयाँ भुक्तानी भएको छ। स्वास्थ्य बीमामा ५२ बीमितबाट दुई करोड ३९ लाख १४ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको भए पनि यस शीर्षकमा भएको भुक्तानीको विवरण उपलब्ध छैन।
शिखर इन्स्योरेन्सको भुक्तानी अग्रस्थानमा
कम्पनीगत विवरणअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा बढी १९ करोड ८९ लाख तीन हजार रुपैयाँ भुक्तानी गरेको छ। युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ४९ लाख ६२ हजार, आईएमई प्रुडेन्सियल इन्स्योरेन्सले एक करोड १६ लाख ५३ हजार र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६७ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेका छन्।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा १६१ बीमितबाट ६६ करोड ११ लाख ९५ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ। सानिमा जीआईसी इन्स्योरेन्समा १९२ बीमितले ३४ करोड ३२ लाख ४५ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा ४५९ बीमितले २६ करोड ५५ लाख ८६ हजार रुपैयाँको दाबी गरेका छन्।
मधेस प्रदेशमा ७ करोड ५९ लाखको दाबी
नेपाल बीमा प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार मधेस प्रदेशमा बाढीबाट भएको क्षतिका लागि सात करोड ५९ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ।
दाबी भुक्तानी मार्गदर्शन र आगामी प्रक्रिया
बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायका लागि बीमा क्षति आर्थिक भार कम गर्ने महत्त्वपूर्ण माध्यम हो। प्रारम्भिक दाबीको रकम र वास्तविक रूपमा स्वीकृत हुने क्षतिपूर्तिबीच फरक पर्न सक्ने भए पनि हालसम्मको भुक्तानी रकम निकै न्यून देखिएको छ।
नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ लागू गरेको छ। यस मार्गदर्शनअनुसार बीमकले दाबी प्राप्त भएको १५ दिनभित्र भुक्तानी प्रक्रिया सुरु गर्नुपर्छ। सर्भेयरले सर्भे प्रतिवेदन बुझाएको २१ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र बीमकले दाबी भुक्तानी गर्न नसकेमा वा गर्नु नपर्ने भएमा सोको कारणसहितको लिखित जानकारी र सो विरुद्ध नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सकिने व्यवस्थाको बारेमा समेत बीमितलाई लिखित जानकारी गराउनुपर्ने प्रावधान छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताएका छन्।
