अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने महत्वाकांक्षी योजनामा निजी क्षेत्र महत्वपूर्ण साझेदार रहेको स्पष्ट पारेका छन्। उनले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग त्यस्तो कुनै सूची नरहेको बताए।
शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई ‘हाम्रो साझेदार हो’ भन्दै सरकारले व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची नबनाएको दृढताका साथ उल्लेख गरे। सरकारका पाँच प्राथमिकताहरू स्पष्ट पार्दै उनले सुशासन, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक तथा बाह्य कनेक्टिभिटी, सामाजिक लगानी र पर्यटन, संस्कृति तथा इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तारलाई जोड दिए।
उनले मुलुक अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा पुगेको भन्दै आगामी बजेटसम्म पर्खन उद्योगी व्यवसायीलाई आग्रह गरे।
भारतको आर्थिक प्रगति नेपालका लागि उदाहरण
राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले हासिल गरेको प्रगतिको उदाहरण दिँदै अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४/१५ मा सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालको अहिलेकै हाराहारीमा रहेको बताए। तर, पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको उल्लेख गर्दै नेपाल पनि अब सोही बाटोमा लाग्ने बेला भएको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन र १०० बिलियन डलरको लक्ष्य प्राप्तिको आधार तयार पार्न आगामी बजेटसम्म पर्खन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।
