गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेत उङ्गिलुङका ६५ वर्षीय सोनाम लामा, ६० वर्षीया लाप्पा ठोर्मा लामा, ६८ वर्षीय कर्मा लामा, ६० वर्षीया सोम्बुती लामा र ४१ वर्षीय तेन दोर्जे लामा आइतबार बिहान सिरिङ्गे हिमाल क्षेत्रमा गएको हिमपहिरोका कारण उइन्गुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहे पनि अवस्था अझै अज्ञात छ।
बाढीले स्थानीयको जनजीवनमा गहिरो प्रभाव पारेको छ। २०० भन्दा बढी घरमा क्षति पुगेको छ भने करिब डेढ सय चौँरीगाई तथा भेडाबाख्रा बगाएको छ। चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र आसपासका सातदेखि आठवटा घर बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २०-२२ घर जोखिममा परेका छन्।
बाढी प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ। मनास्लु पदमार्गमा क्षति पुगेपछि सयौँ पर्यटकको आवागमन प्रभावित भएको छ। चुमनुब्री गाउँपालिका–३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक सुरक्षित स्थानमा रहेका छन् भने चुमनुब्री–६ लोक्पामा १७ जना र छेकम्पार क्षेत्रमा ४० जना पर्यटक रोकिएका छन्।
बुढीगण्डकी बाढीले पूर्वाधारमा व्यापक क्षति
बाढीले गोरखा र धादिङका विभिन्न भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। मनास्लु पदमार्ग र गोरखा तथा धादिङ जोड्ने मुख्य सडकका तीनवटा पक्की पुल र २ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल र आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।
आरुघाट–९ नयाँपुलमा गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बाढीले बगाएको छ। यसबाहेक, बाढीले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र निर्माण उपकरणमा क्षति पुर्याएको छ। दोभान खोला जलविद्युत् आयोजनाको २४.५ मेगावाट क्षमताको क्याम्प क्षेत्रमा क्षति पुर्याउनुका साथै त्यहाँको बेलीब्रिजसमेत बगाएको छ। खानेपानी आयोजना, विद्यालय, दुईवटा टेलिफोन टावर र करिब ५० वटा बिजुलीका पोलमा समेत क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार आइतबार साँझ ६ बजेसम्म १३२ संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीले ४५ वटा घर पूर्ण रुपमा र २७ वटा घरमा आंशिक क्षति भएको छ। ३४ गोठ, १२ वटा बंगुरका खोर तथा गोदाम र तीनवटा सवारी साधनमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–विशालनगरका करिब १०० घरमा लेदो पसेको छ। बाढी आरुघाट गाउँपालिकासम्म आइपुग्दा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ।
सरकारको प्रतिकार्य र पुनर्निर्माणका योजना
सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, सडक तथा पुल पुनः सञ्चालन र पुनर्निर्माणका कामलाई तीव्रता दिएको जनाएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। बाढीको सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न करिब २ लाख जनालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। प्राधिकरणको कमान्ड पोस्टले तत्काल बैठक गरी अवस्थाको निरन्तर अनुगमन र उद्धार कार्य परिचालन गरेको थियो।
विपद्पछिको प्रतिकार्य तथा राहत वितरणअन्तर्गत सोमबार काठमाडौँदेखि हवाई मार्गबाट गोरखाको फिलिममा ४ हजार २७० किलोग्राम खाद्यान्न र १ हजार ९०० लिटर हवाई इन्धन ढुवानी गरिएको छ। आरुघाट र सल्यानटार जोड्ने पुल पुनः सञ्चालन गर्न हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याएर जडान कार्य तीव्र पारिएको छ। छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभानदेखि सल्लेरीसम्मको सडक खुलाउने प्रयास भइरहेको छ।
सरकारले दसैँअघि नै अवरुद्ध सबै सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। बाढीको वास्तविक कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली परिचालन गरिएको छ। गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बाढीपछि नदीको बहाव क्रमश घटेको बताए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाएको छ। थप उद्धारका लागि नेपाल प्रहरीको ५० जनाको टोलीलाई विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ।
यसअघि: बुढीगण्डकी बाढीले गोरखाका दुई पक्की पुल बगायो, ३५ घर ध्वस्त, १० जना बेपत्ता
